काठमाडौँ।
भारत र क्यानडाले आफ्नो खस्किएको कूटनीतिक सम्बन्धलाई पुनस्र्थापित गर्दै १० वर्षे आणविक ऊर्जा सम्झौतामा हस्ताक्षर गरेका छन्। नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाली प्रधानमन्त्री मार्क कार्नीबीच भएको भेटवार्तापछि दुई देशबीच प्रविधि, खनिज, अन्तरिक्ष, रक्षा र शिक्षा लगायतका क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरू भएका हुन्।
सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख पृथकतावादी हरदीप सिंह निज्जरको हत्यामा भारतमाथि आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो। त्यसबेला कूटनीतिज्ञहरूको निष्कासन र भिसा सेवा रद्द हुनुका साथै व्यापारिक सम्बन्ध समेत ठप्प भएको थियो। नयाँ प्रधानमन्त्री कार्नीको नेतृत्वमा दुवै देशले ती पुराना विवादलाई पन्छाउँदै सम्बन्ध सुधारको प्रयास थालेका हुन्।
दुवै नेताहरू सन् २०२६ को अन्त्यसम्ममा वर्षौंदेखि थाती रहेको स्वतन्त्र व्यापार सम्झौता (FTA) मा हस्ताक्षर गर्न समेत सहमत भएका छन्। यस कदमले अमेरिकाले लगाउन सक्ने दण्डात्मक व्यापार शुल्कको जोखिम कम गर्ने अपेक्षा गरिएको छ। वार्ताका क्रममा मोदी र कार्नीले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र जनता–जनताबिचको घनिष्ठतालाई जोड दिँदै साझा लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।