काठमाडौँ।
रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। सोमबार सदरमुकाम मन्थलीबाट रामेछाप–२ र ३ का बुथतर्फ जाँदै गरेको गाडी देउराली सिरुबारीको भिर नजिकै दुर्घटनामा परेको हो।
सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा असईको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना निर्वाचन कर्मचारी घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीका साथै मतपेटिका र अन्य आवश्यक निर्वाचन सामग्रीहरू रहेका थिए।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट खटिएको ११ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइते कर्मचारीहरूको विस्तृत परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।