काठमाडौँ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को घुँडाको शल्यक्रियाका लागि हालसम्म करिब ७० लाख रुपैयाँ (६९ लाख ९८ हजार ९२१ रुपैयाँ) संकलन भएको छ। सोमबार सामाजिक सञ्जालमार्फत उनले गरेको भावुक अपिलपछि देश–विदेशबाट सहयोग जुट्ने क्रम तीव्र बनेको हो।
संकलित रकममध्ये विदेशबाट मात्रै ४८ हजार १६३ डलर प्राप्त भएको छ भने नेपालबाट पनि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरिरहेका छन्। 'एक्स्ट्रिम इनर्जी' ले ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ भने व्यक्तिगत रूपमा पनि रकम जम्मा हुने क्रम जारी छ।
एन्फाका वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङले उपचारमा सहयोग गर्ने आश्वासन दिएर अन्तिम समयमा असमर्थता जनाएपछि साम्बाले समर्थकहरूसँग गुहार मागेकी थिइन्। उनी अब कतारको अस्पेटार अस्पतालमा शल्यक्रिया गराउने तयारीमा छिन्। यसअघि एन्फाको पूर्व नेतृत्वले कतार फुटबल संघसँग समन्वय गरी उनको निःशुल्क उपचार गराएको थियो। सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहेकी साम्बालाई यो सहयोगले ठूलो राहत पुगेको छ।