काठमाडौँ ।
स्वदेशवादी चिन्तक तथा विश्लेषक सौरभले पटक पटक उच्चारण गर्ने शब्द हो, ‘नेपालीहरुको आइक्यू शून्यप्रायः छ ।’ अनि चर्चित टिप्पणीकार सीके लालको दृष्टिमा ‘नेपालको राजनीतिक प्रणाली र राज्य व्यवस्था, खस आर्यको वर्चश्व रहेको नृजातीय राज्यसत्ता हो ।’ अझ अलिक उग्रताको प्रयोग गर्दै उनी नेतालाई मालिक र कार्यकर्तालाई नोकरको संज्ञा दिन्छन् ।
चन्द्रकिशोर लाल 'सीके' निरपेक्षताको चस्माले, 'वर्चस्ववादीहरुलाई पिशाच प्रवृत्ति'का भन्न भ्याउँछन् । उनी भन्छन्, ‘वञ्चित, तिरस्कृत एवं बहिष्कृत समुदायलाई न्यायोचित अवसरबाट वर्चस्ववादीहरूले विमुख गरिरहने हो भने श्मशानघाटको शान्तिलाई खलबल्याउन भूत भइसकेकाहरू पिशाच रूप धारण गररे ताण्डव गर्न तम्सिन सक्छन् ।’
यहाँनेर सम्झाउन खोजिएको के भने ? कुनै बेला बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्ने कसम खाएका कमल थापा अझै खारिएका वा सुध्रिएका रहेनछन् । कुनै बेला पारस राजा हुँदैनन् भनेर खुलेआम अन्तर्वार्ता दिँदै हिँडेका कमल विचारमा कति संकुचित छन् र नातावादमा कति कटिवद्ध छन् भन्ने थाहा पाउन धेरै टाढा जानै पर्दैन, काठमाडौं क्षेत्र नम्बर १ को चुनावमा उनले राखेको कुविचारलाई कोट्याए पुग्छ ।
नाम कमल भए पनि उनलाई हिलो वा तलाउमा फुलेको कमलसँग दाज्न मिल्दैन । उनी वैभवशाली परिवारमा हुर्किएका कमल हुन् । त्यसपछि पनि उनको परिचय वैभवपूर्ण नै छ । नेपाल सरकारको उपप्रधानमन्त्री भइसकेका उनी शक्तिशाली गृहमन्त्री, टेबल टेनिस खेलाडी, नेपाली फुटबलका पूर्व कप्तान समेत हुन् । २६ वर्षको उमेरमा अखिल नेपाल फुटबल संघको अध्यक्ष भएका उनी राजनीति शास्त्र र अर्थशास्त्रका विद्यार्थी हुन् ।
माओवादीको तत्कालीन विद्रोहताका गृह मन्त्रलय रहेका उनको हक्की स्वभाव अहिले पनि कायम छ । तर, वास्तबमा उनको परिचय जति वैभवपूर्ण छ, पर्दा पछाडि उतिनै खराब र क्रुर छन्, उनी । धेरैले भनिरहेका छन्, दुई पल्ट उपविजेता बनेका रविन्द्रले यो पल्ट न्याय पाउँछन् । तर, खान्दानी नातावादबाट ग्रसित राप्रपा नेता कमल थापा नै काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेद्वार रविन्द्र मिश्रलाई हराउन लागि परेका खुलासा भएको छ । उनले आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न छोडेर कांग्रेसबाट चुनावी मैदानमा रहेका आफ्नो भान्जा प्रबल थापालाई सहयोग गर्ने गोप्य मन्त्रणा गरेको कुरा उच्तस्तरबाट थाहा हुन आएको हो ।
२०७९ को संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा उम्मेदवार रविन्द्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग १३२ मतले तल परेका थिए । कांग्रेस उम्मेदवार प्रकाशमानले सात हजार एक सय ४३ मत पाउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रले सात हजार ११ मत ल्याएका थिए । यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रविन्द्र प्रकाशमानसँगै हारेका थिए । त्यो बेला रविन्द्र ८१९ मतले हारेका हुन् ।
०७४ को चुनावमा वैकल्पिक राजनीतिक धार अर्थात् विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका रविन्द्र विचार भन्दामाथि देश भन्दै राप्रपा प्रवेश गरेर हलो चुनाव चिह्न लिई उठ्दा जितउन्मुख भएका थिए । त्यो बेला पनि यस्तै कुनै एउटा भाउँतो आइ लागेर हारेको तर्क गर्छन्, उनी निकटस्थहरु । त्यो बेला पनि यस्तै थापा बन्धुहरु मिलेर रविन्द्रलाई हराएको चिया चर्चा चल्छ, अहिले पनि ।
त्यो बेला भित्रि रुपमा रविन्द्र हराउन लागि परेका एउटा थापा अहिले कमल थापाको भान्जाका पार्टी सभापति छन् । केही जानकारहरु अहिले पनि भन्छन्, ‘त्यो बेला अन्य स्वतन्त्रहरुले मिश्रलाई सहयोग गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका पूर्व डीआईजी रमेश खरेल अन्तिम समयसम्म कायमै रहन थापा बन्धु कै मन्त्रणाले काम गरेको हो ।’
अर्कोतर्फ त्यो बेला नेवाः समुदायको प्रतिनिधि एवं प्रजातान्त्रिक योद्धा गणेशमानपुत्र उम्मेदवार रहेका कारण पनि मिश्र जित नजिक पुगेर हार खाएको बताइन्छ । अहिले पनि काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा, कांग्रेस र एमाले बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रकाशमान अहिले उम्मेदवार छैनन् । कांग्रेसबाट व्यवसायी एवं कांग्रेस नेता (कमल थापाका भान्जा, पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीका ज्वाईं)प्रवल थापा क्षेत्री चुनावी मैदानमा छन् । एमालेबाट भने पूर्व कर्मचारी व्यागराउण्डका मोहनराज रेग्मी, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट मेनुका भण्डारी (कृतु) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रञ्जु दर्शना चुनावी मैदानमा छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय पोषाक अभियन्ता राजानन्द माण्डव्यले मुद्दा मिल्ने भएका कारण राप्रपा उम्मेदवार रविन्द्रलाई समर्थन गर्दै प्रतिष्पर्धाबाट पछि हटेका छन् भने पूर्व मिलिट्रि परिवारको वैभव भएका पठाओ एप प्रवद्र्धक असिममान सिंह बस्न्यात र अधिवक्ता कमल कोइराला भने चुनावी रिङ मै छन् । रविन्द्रलाई न्याय क्षेत्रको सुधारका लागि संसदीय यात्राका लागि हिँडेका कोइरालाबाट खासै प्रभाव नपर्ला तर युवामाझ चर्चित पठाओका प्रवद्र्धक बस्न्यातले २० लाख युवालाई रोजगारी दिने महत्वकांक्षी नारा अघि सारेका कारण युवा आकर्षित हुन सक्छन् । अर्कोतर्फ उनले भित्रि रुपमा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दालाई स्वीकारेका बताइन्छ । त्यति मात्र नभई बागमती नदी र त्यसका सहायक नदीको मापदण्ड पीडितको मुद्दामा पनि उनले ऐक्यवद्धता जनाएका कारण रविन्द्रलाई जोखिम छ ।
अझ त्यो भन्दा भित्रि कुरा देशभर गाँजाको कानूनी वैधता खोजिरहेको गाँजावादी अभियानका मुख्य अभियन्ताहरुको प्रभाव क्षेत्र भएका कारण पनि काठमाडौं क्षेत्र १ मा रविन्द्रको जोखिम थप बढ्न सक्छ । अर्को गाँठी कुरा उनको आफ्नै बोली पनि भारी पर्न सक्छ, उनले आफुले पैसा नबाँड्ने र पैसाका लागि राजनीति पनि नगर्ने कुरा डिप्लोम्याटहरुका लागि महत्वपूर्ण हुनसक्छ ।
तर, जुन सम्प्रदायलाई इंकित गर्न खोजिएको हो र जसलाई चिढ्याउन खोजिएको हो उनीहरुको मन फर्काउन रविन्द्रले पैसा त के शिरै काटेर चढाए पनि सम्भव छैन । दुई पल्ट झण्डै जितको नजिक पुगेर खुम्चिनु परेको यथार्थलाई भुलेर चुनावको मुखमा धेर मुख चलाउनु प्रत्युत्पादक हुनसक्छ । सबैभन्दा सानो तथा महत्वपूर्ण निर्वाचन क्षेत्रमाथि स्वभावैले देशभरबाट चासो रहन्छ । त्यसकारण जाने बुझेकाको सुझाव लिनु र बोलीमा लगाम लगाउनु नै बुद्धिमानी हुन्छ । अर्कोतर्फ अझै चुनावी मैदानमा २८ जना उम्मेदवार छन् भन्ने कुरालाई भुल्नु हुँदैन ।
भूगोलमा काठमाडौँ-१
यो निर्वाचन क्षेत्र काठमाडौंको मुटु क्षेत्रमा पर्छ । अझै भन्ने हो भने मुलुककै बागडोर सिंहदरबार वरिपरी । संघीय संसद भएकै ठाउँ । यो ठाउँ काठमाडौंको एक मात्र यस्तो निर्वाचन क्षेत्र हो जुन महानगरभित्रै घुमेको छ । महानगरका चार वडा १०, ११, २९ र ३१ मिलेर बनेको यो निर्वाचन क्षेत्र भौगोलिक हिसाबले सानो छ, तर चेतनाको हिसाबले अब्बल ।
काठमाडौंका घना बस्ती भएका त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, बबरमहल, अनामनगर, बिजुलीबजार, बुद्धनगर, नयाँ बानेश्वर, मीनभवन, शान्तिनगर, भिमसेनगोला र मध्येबानेश्वर यही निर्वाचन क्षेत्रमा पर्छन् ।
शिक्षा, यातायात र सञ्चारको हिसाबले सुगम यो निर्वाचन क्षेत्रका मतदाताका लागि कसलाई मत दिने भनेर निर्णय गर्न धेरै कठिन हुँदैन । तर, जसले यो क्षेत्रलाई एउटा आईटी हबको रुपमा विकास गर्ने एजेण्डा अघि सार्नेछ, उसैले बाजी मार्ने छ ।