काठमाडौँ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा थप ९ जनासँग स्पष्टीकरण माग गरेको छ। योसँगै स्पष्टीकरण सोधिनेको कुल संख्या ३० पुगेको छ।
आयोगले बाजुराका रास्वपा उमेदवार हेमराज थापालाई वाग्मतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँविरुद्ध अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ।
यस्तै, झापा–५ का उमेदवार बालेन्द्र शाह (बालेन) लाई दोस्रोपटक स्पष्टीकरण सोधिएको छ। उनको प्रचारप्रसारमा श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आयोगले यसबारे सोधपुछ गरेको हो।
यसैगरी, सिन्धुपाल्चोक–१ मा निर्वाचन कार्यालय बाहिर दलको चिह्न पेन्ट गरेको विषयमा नेपाली कम्युनिस्ट पार्टी र उमेदवार माधव सापकोटासँग पनि जवाफ मागिएको छ। आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ। हालसम्म सोधिएका स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको आयोगले जनाएको छ।