काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।
सहिद दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छन्, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् ।”
उनले न्याय, समानता र उज्यालो भविष्यको आशामा भएको 'जेनजी' आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति पनि नमन गरेकी छन् । प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व हरेक शासकले सधैँ स्मरण गर्नुपर्नेमा जोड दिएकी छन् ।