काठमाडौँ ।
हुम्लामा दुई दिनदेखि लगातार भइरहेको भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाक्लो हिउँ जमेपछि सदरमुकाम सिमकोटबाट उत्तरी नाम्खा गाउँपालिका लगायतका क्षेत्रमा जाने बाटोहरू अवरुद्ध भएका छन् ।
हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटका लागि हुने सम्पूर्ण हवाई उडानहरू बन्द भएका छन् । उडान बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार, प्रतिकूल मौसमका बाबजुद पनि सदरमुकामका सरकारी कार्यालयहरूमा आगो बालेर सेवा प्रवाहलाई निरन्तरता दिइएको छ ।
हवाई सेवा सुचारु गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले सिमकोट विमानस्थलमा जमेको हिउँ सफा गर्ने कामलाई तीव्रता दिएको छ ।
यसैबीच, हिमपातका बीच पनि आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूले गाउँ-गाउँमा पुगेर आफ्नो प्रचारप्रसारलाई जारी राखेका छन् ।
हिमपातले आवतजावतमा कठिनाइ भए पनि स्थानीय किसानहरू भने खुसी भएका छन् । यो हिमपातले मंसिरमा लगाएको जौ, गहुँ, उवा जस्ता हिउँदे बालीलाई फाइदा पुग्ने उनीहरूको विश्वास छ ।