कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
बडीमालिका घुम्न पर्यटक विगतमा जनैपूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै जाने गरेकामा अहिले आन्तरिक पर्यटक अन्य बेलामा पनि जान थालेका हुन् ।
चारैतिर हरियाली, भेडाबाख्रा, गाईभैँसी र घोडाका बथान चरणमा लैजाने बेला रमणीय देखिने भएकाले आन्तरिक पर्यटक जेठ महिनादेखि नै त्रिवेणी पाटन भएर बडीमालिका जाने गरेका छन् ।
त्रिवेणी पाटन समुन्द्री सतहबाट झण्डै चार हजार २१९ मिटरको उचाइमा पर्छ । पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले त्रिवेणी पाटनको हरियाली दृश्यले पर्यटकको मन लोभ्याउने गरेको बताउँछन् ।
उनले ‘त्रिवेणीसँगै ३२ वटा सुन्दर पाटनले पर्यटकलाई रोमाञ्चकता दिने भएकाले अहिले बडीमालिका पूजाको समयमा भन्दा पनि अरु समयमा पर्यटक आउने गरेका छन्,’ भने ।
त्रिवेणी पाटनमा लेकाली वन, त्रिवेणी भएर बग्ने खोला, हरियाली फाँट र पाटनमा फुलेका फूलले पाटन पर्यटकको रोजाइमा पर्ने गरेको रास्कोट नगरपालिका-६ का मुस्कान शाहीले बताP ।
यहाँ विभिन्न प्रजातिका वनस्पति, एक सयभन्दा धेरै प्रजातिका फूल फुल्छन् । बहुमूल्य जडीबुटी पाटनमा पाइन्छ ।
बडीमालिका मन्दिरको पूजा गरेर फर्किंदै गरेका कालीकोट खाँडाचक्र नगरपालिका-५ का निर्माण व्यवसायी गणेश आचार्यले त्रिवेणी पाटनमा घुम्न जाने पर्यटकका लागि बडीमालिकाको त्रिवेणी पाटनमा धर्मशाला, स्नानका लागि एक सय आठ धारा, शौचालय, खानेपानीलगायत संरचना निर्माण गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिए ।