काठमाडौँ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘ट्राफिक सप्ताह २०८२’ को चौथो दिन २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ माघ २६ गतेदेखि सुरु भएको यो अभियान अन्तर्गत उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्।
चौथो दिनको अभियानमा ६ हजार ५ सयभन्दा बढी पैदलयात्रीलाई जेब्राक्रसिङ प्रयोग गर्न सिकाइएको छ भने ६ सय जना सवारी चालकको आँखा परीक्षण गरिएको छ। यस्तै, ९ सय ५१ विद्यार्थी र ५ हजार २ सयभन्दा बढी चालकहरूलाई ट्राफिक नियम र सुरक्षित यात्राबारे जानकारी दिइएको छ। नियम उल्लंघन गर्ने २ सय ३६ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइनुका साथै ५ हजारभन्दा बढी पर्चा-पम्प्लेट वितरण गरिएको छ।
प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार सडकमा हुने सानो लापरबाहीले हुने ठूला दुर्घटना रोक्न र सुरक्षित सडक संस्कारको विकास गर्न यो सप्ताह आयोजना गरिएको हो। यो अभियान आगामी माघ ३ गतेसम्म जारी रहनेछ।