काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य गम्भीर संकटमा परेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको उनको दाबी छ ।
सामाजिक सञ्जालमा लेख्दै बस्नेतले रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक सांसद बन्ने अवसर दुवै गुमाएको बताएका छन् । "अस्थायी मन्त्री पद केही महिनाका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो," बस्नेतले लेखेका छन् ।
उनले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने तर्क गरे । एमाले र कांग्रेसजस्ता दलहरू चराझैँ बलिया भए पनि कुलमान र बालेन शाहजस्ता पात्रहरू पुतलीजस्तै कमजोर भएको उनको टिप्पणी छ ।
बस्नेतले कुलमानको अवस्थापछि अब काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)को पालो आएको भन्दै चेतावनी समेत दिएका छन् । उनका अनुसार, बालेन पनि रवि लामिछानेको राजनीतिक जालोमा पर्ने दिन धेरै टाढा छैन । बस्नेतले पार्टी एकताको नाममा रविले कुलमानलाई प्रयोग गरेर बिचल्लीमा पारेको आरोप लगाएका छन् ।