काठमाडौँ ।
राजनीतिक दलमा संलग्न भएको भन्दै विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई सरकारले अमेरिका भ्रमणको अनुमति दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिका जान स्वीकृति दिएको हो ।
मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने ‘जेनजी क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन जान लागेका हुन् ।
यसअघि प्रधानमन्त्री कार्कीले निर्दलीय सरकारका केही मन्त्रीहरू राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन दबाब दिएकी थिइन् । तर, उनकै अध्यक्षतामा बसेको बैठकले राजनीतिक रूपमा सक्रिय रहेका मन्त्री गुप्तालाई विदेश भ्रमणको अनुमति दिएको हो ।
यद्यपि, मन्त्री गुप्ताको सचिवालयले भ्रमणबारे अन्तिम टुंगो नलागेको र भिसाका लागि आवेदनसमेत नदिइएको दाबी गरेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कोटाबाट मन्त्री बनेका गुप्ता, बालेन समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएपछि सक्रिय राजनीतिमा छन् । ऊर्जा मन्त्री कुलमान घिसिङले गएराति राजीनामा दिएपछि मन्त्री गुप्ता र सरकारका प्रवक्ता जगदीश खरेलमाथि पनि राजीनामाको दबाब बढेको छ ।