काठमाडौँ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्न तल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । पार्टीले बिहीबार एक परिपत्र जारी गर्दै सात दिनभित्र उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउन प्रदेश र जिल्ला समितिलाई निर्देशन दिएको हो ।
जसपाको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पार्टीको विधानबमोजिम योग्यता पुगेका व्यक्तिहरूको नाम क्षेत्रीय समितिको निर्णयसहित पठाउन भनिएको छ ।
सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि, पार्टीमा गरेको योगदान र सक्रियता समेत स्पष्ट रूपमा खुलाएर पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले लगाउने जसपाले जनाएको छ ।