काठमाडौँ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०२५ मा २५ हजार ४०३ जना बढी विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमका अनुसार, सन् २०२५ मा कुल १ लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । सन् २०२४ मा यो संख्या १ लाख ३५ हजार ७१९ थियो ।
गत वर्ष मुस्ताङ भ्रमण गर्नेमा सार्क राष्ट्रका पर्यटकको संख्या १ लाख ३२ हजार ८४७ र अन्य राष्ट्रका २८ हजार २७५ रहेको छ । भ्रमण गर्ने विदेशीमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको एक्यापले जनाएको छ ।
यद्यपि, गत भदौमा भएको 'जेनजी' आन्दोलनका कारण अपेक्षा गरिएअनुसार पर्यटकको संख्या बढ्न नसकेको एक्याप प्रमुख राजेश गुप्ताले बताए । आन्दोलनको असरले सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्यटकको संख्या घटेको थियो, जसले गर्दा ३० प्रतिशत वृद्धिको अनुमान पूरा हुन सकेन ।