काठमाडौँ ।
संरक्षित वन्यजन्तु सालकको खपटा ओसारपसार मुद्दामा कैद सजाय भोगिरहेका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–५ का टसी तामाङ रहेका छन् ।
तामाङलाई गौरीशङ्कर संरक्षण क्षेत्र कार्यालयले २०७० सालमा ५ वर्ष कैद र ६२ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही सजाय भुक्तान गर्ने क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारमा रहेका उनी 'जेनजी' आन्दोलनका बेला कारागारबाट फरार भएका थिए ।
फरार भएर लुकिछिपी बसिरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई पुनः कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ ।