काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो ।
ह्वाइट हाउसले मंगलबार यो निर्णय सार्वजनिक गरेको हो । सुरक्षा जोखिमलाई कारण देखाउँदै आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडा बनाइएको प्रशासनले जनाएको छ । हालै नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि यो कदम चालिएको हो ।
नयाँ प्रतिबन्धसँगै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ । यो नयाँ प्रतिबन्ध आगामी जनवरी १ देखि लागू हुनेछ ।
यसअघि गत जुन महिनामा पनि ट्रम्प प्रशासनले अफगानिस्तान, इरान,लिबिया, सोमालिया, यमनसहित १२ देशका नागरिकमाथि पूर्ण र अन्य सात देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाएको थियो । साथै, अमेरिकाले १९ देशका नागरिकलाई प्रदान गरिएको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरिसकेको छ ।