काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूलाई लक्षित गर्दै कडा धम्की दिएका छन्। इरानी दैनिक 'हामसहरी' ले आफ्नो पहिलो पृष्ठमा 'आकस्मिक मृत्युका लागि तयार हुनुहोस्' शीर्षकमा ट्रम्प, नेतन्याहु र अमेरिकी रक्षामन्त्रीको तस्बिरसहितको सामग्री प्रकाशन गरेको छ।
अर्को पत्रिका 'भातान–ए इमरोज' ले ग्राहमलाई 'मृत्युको व्यापारी' भन्दै उनको निधनलाई प्रमुखताका साथ छापेको छ। इरानी सरकारी सञ्चारमाध्यमका समाचार वाचकले ग्राहमलाई 'नरक पठाइएको' टिप्पणी गरेका छन्। यी अभिव्यक्तिहरूले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने संकेत गरेका छन्।
यसैबीच, ट्रम्प समर्थक 'एमएजीए' अभियानका केही समूहले ग्राहमको मृत्युमा इरानी सुरक्षा निकाय (आइआरजिसी) को संलग्नता हुन सक्ने भन्दै अनुसन्धानको माग गरेका छन्, यद्यपि यसको कुनै आधिकारिक प्रमाण फेला परेको छैन।
सिनेटर ग्राहम इरानको वर्तमान शासन परिवर्तन (रेजिम चेन्ज) का कट्टर समर्थक र इजरायलका बलिया पक्षपाती थिए। उनले इजरायली गुप्तचर संस्था मोसाद र प्रधानमन्त्री नेतन्याहुसँग मिलेर ट्रम्पलाई इरानविरुद्ध सैन्य कारबाहीका लागि सहमत गराउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। गाजा युद्धका क्रममा इजरायलले आणविक हतियार प्रयोग गर्न सक्ने उनको विवादास्पद अभिव्यक्तिले उनी इरानको तारो बनेका थिए। (रासस/एएनआई)