काठमाडौँ
गाजा स्ट्रिप क्षेत्रमा आएको शक्तिशाली हिउँदझरीका कारण ८ लाखभन्दा बढी जना बाढीको जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ। लगातारको वर्षाले विस्थापितहरू बसोबास गर्दै आएका क्याम्पहरू डुबानमा परेका छन् र केही भवनहरू समेत ढलेका छन्। युद्धपछिको पुनर्निर्माण सुरु नहुँदा अस्थायी टेन्टमा बसिरहेका परिवारहरू कठोर मौसमसँग जुधिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामपछि शान्ति योजनाको पहिलो चरणमै गाजा रोकिएको छ। इजरायलले ७ अक्टोबर २०२३ को हामास आक्रमणमा अपहरण परेका अन्तिम बेपत्ता प्रहरी रण ग्विलीको खोजी पूरा नभएसम्म दोस्रो चरणमा नजाने अडान लिएको छ। हमास र इजरायल दुवैले दोस्रो चरणमा कठोर सम्झौताहरू मान्नु पर्ने भएकाले प्रक्रिया अघि बढाउन दुवैतर्फ हिच्किचाहट देखिएको विश्लेषकहरूको भनाइ छ।
इजरायल तथा हमास दुवैलाई दोस्रो चरणमा ठूलो राजनीतिक र सुरक्षा जोखिम उठाउनुपर्नेछ—हमासले स्वतः शक्ति र हतियार त्याग्नुपर्ने र इजरायलले गाजाको नियन्त्रण अन्तर्राष्ट्रिय स्थिरीकरण फोर्सलाई हस्तान्तरण गर्नुपर्ने। इजरायलका नेताहरूले यस्तो फोर्सले हमासलाई पूर्ण रूपमा निशस्त्रीकरण गर्न नसक्ने भन्दै शंकासमेत व्यक्त गरेका छन्।
यसबीच, संयुक्त राज्य अमेरिकाको दबाबमा इजरायलले रफाह क्षेत्रमा अस्थायी बासस्थान निर्माणका लागि भग्नावशेष हटाउने काम थालिएको रिपोर्ट छ, जसले लाखौँ गाजावासीलाई बस्न सहयोग पुर्याउन सक्ने बताइएको छ। तर यस्तो क्षेत्र इजरायलको नियन्त्रणमा हुने भएकाले धेरै गाजावासीहरू बसाइँ सर्न इच्छुक छैनन्।
शान्ति योजनाको दोस्रो चरण अघि नबढे गाजा झनै विभाजित र अस्थिर बन्ने खतरा बढेको विश्लेषकहरूको चेतावनी छ।