काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायमा देखिएका बेथितिहरूलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायहरूलाई कडा निर्देशन दिएकी छन् ।
श्रम, परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा वैदेशिक रोजगार विभागका उच्च अधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले नीति बनाउँदा व्यवसायी र दलालको मात्र नभई विदेशिने नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
"म्यानपावर (व्यवसायी) मोटाउने काम मात्र नगरौँ, उनीहरूलाई सचेत गराउनुपर्यो," प्रधानमन्त्रीले भनिन्, "विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली बनाउनुहोस् ।"
उनले कुवेतमा अलपत्र परेका महिला कामदारहरूको तत्काल उद्धार गर्न ताकेता गर्दै वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित देशको भाषा र सीपको तालिम अनिवार्य र प्रभावकारी रूपमा लागू गर्न पनि ध्यानाकर्षण गराइन् । "राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको सुनिश्चितता पनि गर्नुपर्छ, सबै कुरा दलाललाई छाडेर हुँदैन," उनले भनिन् ।