काठमाडौँ।
सर्लाहीमा प्रहरीले एम्बुलेन्सभित्र लुकाएर लैजान लागिएको अवस्थामा ५१ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हरिवन नगरपालिका-५, घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर अन्यत्र लैजान तयारी अवस्थामा राखिएको एम्बुलेन्सलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार नेपाल रेडक्रस सोसाइटी, रामनगर बहुअर्वाको नाममा दर्ता रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, हरिवनबाट खटिएको टोलीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा एम्बुलेन्सभित्र लुकाइएको ५१ किलो गाँजा फेला परेको हो । प्रहरीले एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका-४, सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि घटनास्थलबाटै पक्राउ गरेको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिरामी बोक्ने जस्तो संवेदनशील सवारी साधनको दुरुपयोग गरी लागुऔषध तस्करी भएको घटनाले गम्भीर प्रश्न खडा गरेको छ ।