धनुषा । धनुषार
सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुंगे पुल
सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ
।
पुल निर्माणपछि
पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज
भएको छ ।
कमला नदीमाथिको झोलुंगे
पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला दिनमा भीड नै लाग्न थालेको
छ । पुलबाट वरपरको दृश्य समेट्नेगरी टिकटक बनाउन र फोटो खिच्न तँछाडमछाड गरेको
देखिन्छ ।
करिब एक हजार ५४४ मिटर
लामो उक्त झोलुंगे पुलले धनुषाको जनकनन्दिनी गाउँपालिका-४ कठाल र सिरहाको सिरहा नगरपालिका-१३ मल्हनियालाई जोडेको छ ।
पुल निर्माणसँगै
वर्षौँदेखि डुंगा तथा वैकल्पिक जोखिमपूर्ण माध्यम प्रयोग गरेर नदी वारपार
गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको धनुषाको जनकनन्दनी गाउँपालिका-३ का सन्दीप साहले बताए । संघीय सरकारको २८
करोडको लागतमा निर्माण भएको थियो ।
निर्माण सम्पन्न भएर
२०८० साल माघबाट पुल सञ्चालनमा आएपछि विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बजारसम्म
पुग्न लाग्ने समय उल्लेख्य रूपमा घटेको छ ।
अहिले दैनिक ठूलो संख्यामा
नागरिकले त्यस पुलमार्फत सहज रूपमा आवतजावत गरिरहेका छन् । पुल निर्माणपछि दुई
जिल्लाबीचको सामाजिक, सांस्कृतिक
र आर्थिक सम्बन्धलाई थप मजबुत बनाएको जनकनन्दनी गाउँपालिका-३
कै रोशन यादवको विश्वास छ ।
पुल निर्माणपछि छिमेकी
मुलुक भारतको बिहारबाट आउने पर्यटकलाई समेत सहज पहुँच भएको छ । नजिकका धार्मिक तथा
पर्यटकीय क्षेत्र घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्न थालेपछि स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा
साना व्यवसायी उत्साहित भएको स्थानीय मोहम्मद इमामुलको भनाइ छ ।
हुलाकी
सडकखण्डअन्तर्गत कमला खोलामा नवनिर्मित पुल भत्किएपछि झोलुंगे पुल कमलानदी वारपार
गर्नेको संख्या पछिल्लो समय बढेको छ ।
‘पहिले नदी तर्न डुंगामा
निर्भर रहनुपर्ने अवस्था रहेकाले वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको थियो,’
इमामुलले भने, ‘अहिले पुल सञ्चालनमा आएपछि
वर्षभरि सुरक्षित र सहज रूपमा यात्रा गर्न सहज भएको छ ।’
स्थानीय किसानले
उत्पादन गरेका कृषि उपज, दुग्धजन्य
वस्तु तथा अन्य सामग्री बजारसम्म पुर्याउनसमेत सहज भएको छ ।
यातायात खर्च र समय
दुवै घटेकाले कृषक तथा साना उद्यमी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
पुल आसपासका क्षेत्रमा चिया पसल, होटल,
किराना, फलफूल तथा अन्य साना व्यवसाय विस्तार
हुन थालेका छन् । स्थानीयले पर्यटन र व्यापारसँग सम्बन्धित नयाँ व्यवसाय सञ्चालन
गरेकाले रोजगारी सृजना र स्थानीय अर्थतन्त्रसमेत चलायमान बनाउन सहयोग पुग्ने
अपेक्षा गरिएको छ ।
कमला नगरपालिका, धनुषा-६ का
मनोज यादव उक्त पुललाई केवल आवतजावतमा मात्र सीमित नगराई दुई जिल्लाको विकास, सामाजिक एकता र आर्थिक समृद्धिको आधारका
रूपमा लिइनुपर्ने बताउँछन् । उनका अनुसार पुलबाट शिक्षा, स्वास्थ्य,
कृषि, व्यापार र पर्यटनका क्षेत्रमा
दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ ।
जनकनन्दी गाउँपालिकाका
अध्यक्ष विपिनदेव यादवले उक्त झोलुंगे पुलको अधिकतम उपयोग गर्दै आसपासका क्षेत्रमा
सडक, बजार, पर्यटकीय
पूर्वाधार तथा अन्य सेवा विस्तारका कार्यक्रम अघि बढाइने बताए ।