काठमाडौँ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा प्रहरीले हालसम्म २६७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस घटनासँग सम्बन्धित १५४ वटा मुद्दा दर्ता भएका छन्।
पक्राउ परेकामध्ये ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने ११३ जनामाथि अनुसन्धान जारी छ। त्यसैगरी, ३३ जना धरौटीमा र ८७ जना हाजिर जमानीमा छुटेका छन्।
प्रहरीका अनुसार आगजनी, तोडफोड र आपराधिक उपद्रवसम्बन्धी १०४ वटा जाहेरी दर्ता भएका छन्। जसमा सरकारी कार्यालयमा भएको क्षतिसम्बन्धी ६६, व्यक्तिगत २२, र सर्वोच्च अदालत तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थागत प्रतिष्ठानमा भएको क्षतिसम्बन्धी १६ वटा जाहेरी छन्।
आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १०२ जना कैदीबन्दीलाई पुनः पक्राउ गरी कारागार पठाइएको छ। साथै, प्रहरीले ८३ नाल हतियार समेत बरामद गरेको जनाएको छ। घटनामा पहिचान नखुलेका ७ जनाको डीएनए परीक्षण प्रक्रिया पनि अघि बढाइएको छ।