काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक ऐन बहादुर महरले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके वर्तमान लोकतान्त्रिक व्यवस्था र गणतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले एमाले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको स्पष्ट पार्दै सरकारको सफलता नै संविधान र लोकतन्त्रको सफलतासँग जोडिएको बताए।
महरले सिंहदरबार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष दीपक धानीसहितका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरे। सरकारले विधिको शासन माग्ने विद्यार्थीमाथि प्रहरी दमन गरेको उनको आरोप थियो। उनले वर्तमान सरकारले प्राप्त गरेको जनमतलाई 'अभूतपूर्व' संज्ञा दिँदै यो विश्वासलाई कायम राख्न नसके समग्र युवा पुस्तामा निराशा छाउने र संघीय व्यवस्थामाथि जनविश्वास कमजोर हुने उल्लेख गरे।
प्रधानमन्त्रीले संसद्मा 'नेपालले पनि भारतको सीमा मिचेको छ' भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै महरले उक्त टिप्पणी राष्ट्रहित विपरीत भएको दाबी गरे। उनले प्रधानमन्त्रीले तत्काल सो अभिव्यक्ति फिर्ता लिई जनतासँग माफी माग्नुपर्ने माग गरे।
यस्तै, महरले वास्तविक सुकुमवासीको पहिचान र उचित व्यवस्थापन नगरी बस्ती हटाउन सरकार हतारिएको भन्दै आलोचना गरे। उनले प्रतिपक्षले उठाएका मुद्दाको जवाफ दिनुको सट्टा मन्त्रीहरूले हप्काउने शैली अपनाएको भन्दै सरकारलाई आलोचनालाई सकारात्मक रूपमा लिन र विधिको शासन सुदृढ गर्न आग्रह गरे।