काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्ना नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरूले आज प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउने भएका छन् ।
'द काउन्सिल अफ जेनजी' (सुदन गुरुङ समूह) ले आज बिहान प्रधानमन्त्रीलाई भेटेर यस विषयमा कुरा राख्ने तयारी गरेको हो । समूहका सदस्य अनिल बानियाँका अनुसार भेटको तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।
प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नै पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिवमा नियुक्त गरेको तथा अन्य नातेदारलाई पनि सचिवालयमा नियुक्ति दिलाएको समाचार सार्वजनिक भएको थियो ।
स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिने आदर्शले पत्नी संगीता र अर्की नातेदार कमला श्रेष्ठलाई असोज २ गते एकैदिन स्वकीय सहसचिवमा नियुक्त गरेका थिए । यही विषयमा जेनजी अगुवाहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेका हुन् ।