काठमाडौँ
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् ।
सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए ।
मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले नियुक्ति खारेजी हुनुपर्ने माग दोहो-याए । उनले सभामुख रामचन्द्र मण्डलको पानि राजीनामा माग गरेका हुन् ।
उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
सात दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) को दुरुपयोग गर्दै असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।