काठमाडौँ
चर्चित कमेडियन हिमेश पन्तले हालै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को विवादास्पद फेसबुक स्टाटसपछि पनि उनीबाट धेरै युवाहरूले अझै आशा राखिरहेको बताएका छन्। शनिबार मध्यराति बालेनले सामाजिक सञ्जालमा एक अश्लील स्टाटस लेखेपछि त्यसले देशभर चर्चा र आलोचना दुवै पाएको थियो। केही समयमै उक्त स्टाटस हटाइए पनि त्यसको असर मेयरको छविमा परेको देखिन्छ। यद्यपि, हिमेश पन्तले भने बालेनको गल्तीले उनको योगदान र युवामाझको आशा समाप्त नहुने उल्लेख गर्दै उनको साहस र डर नमान्ने स्वभावलाई सकारात्मक रूपमा व्याख्या गरेका छन्।
पन्तका अनुसार बालेन साहमा अझै पनि त्यस्तो ऊर्जाशीलता छ, जसले पुरानो व्यवस्थालाई हल्लाउने साहस गर्छ। उनले लेखेका छन्, “बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ, किनभने ऊ बोल्छ, डराउँदैन र पुरानोलाई हल्लाउने साहस गर्छ।” उनले पुराना नेताहरूको जिम्मेवारीबिहीन व्यवहारलाई पनि आलोचना गर्दै भनेका छन् कि उनीहरूले “जिम्मेवारीको नाटक गरे तर न दबाब सहन सके, न दृष्टि देखाउन सके।” पन्तको भनाइमा, नयाँ पुस्ताले त्यही गल्ती दोहोर्याउनु हुँदैन र साँचो परिवर्तनका लागि संयम र सोच दुवै आवश्यक छन्।
उनले बालेनको पछिल्लो विवादलाई गलत सोचबाट नभई गलत तरिकाबाट आएको प्रतिक्रिया भनेका छन्। उनका अनुसार जनताले बालेनका शब्द होइन, उनको सन्देश र दृष्टिकोण बुझ्न चाहेका थिए। “शब्द मभभितभ हुन्छ, तर आशा कहिल्यै मभभितभ हुँदैन,” पन्तले भनेका छन्। उनको भनाइमा बालेनजस्ता नेताहरूबाट अझै पनि देशले केही सकारात्मक परिवर्तनको अपेक्षा गर्न सक्छ, यदि उनीहरूले आफ्नो आवेगलाई स्थिरतामा रूपान्तरण गर्न सके भने।
अन्त्यमा, हिमेश पन्तले सन्देश दिएका छन् कि नेतृत्व केवल बोल्ने वा अभिव्यक्त हुने कुरा मात्र होइन, बुझ्ने र बुझाउने गुणमा आधारित हुनुपर्छ। उनका अनुसार अहिले देशलाई चाहिएको नेता बोल्ने होइन, सोच्ने र सम्हाल्ने हो। उनले लेखेका छन्, “नेतृत्वको शक्ति शब्दमा होइन, आत्मसंयम र दृष्टिमा हुन्छ।” पन्तले बालेनलाई संयम, सोच र समयको प्रयोग गर्दै आफूमा रहेको नेतृत्व क्षमतालाई ठोस रूपमा प्रदर्शन गर्न सुझाव दिएका छन्, ताकि युवाहरूको विश्वास अझ मजबुत बनोस् र देशले चाहेको रूपान्तरणको दिशा सही बाटोमा अघि बढोस्।