काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन्द्र शाह (बालेन)) फेरि एकपटक आफ्नो अभिव्यक्तिका कारण सार्वजनिक चर्चा र विवादको केन्द्र बनेका छन्। मध्यरातमा उनले सामाजिक सञ्जालमा राखेको एक स्ट्याटस केही मिनेटमै हटाए पनि त्यसको स्क्रिनसट अहिले विभिन्न प्लेटफर्ममा तीव्र रूपमा फैलिएको छ। बालेनले पोस्ट हटाएपछि पनि जनसरोकार, राजनीतिक दृष्टिकोण र कूटनीतिक प्रभावबारे बहस सुरु भएको छ।
उनले लेखेको उक्त स्ट्याटसमा संयुक्त राज्य अमेरिका, भारत र चीनजस्ता विश्वका शक्तिशाली राष्ट्रहरूका साथै नेपाली प्रमुख राजनीतिक दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै तीखो टिप्पणी गरेका थिए। उनका शब्दहरूमा तीव्र असन्तुष्टि झल्किएको भए पनि त्यही भाषाशैलीले धेरैको ध्यान आकर्षित गरेको छ। आलोचकहरूले उनको वक्तव्यलाई अनावश्यक रूपमा उग्र र कूटनीतिक दृष्टिले असावधान ठहराएका छन्।

पोस्ट सार्वजनिक भएको केही समयमै शाहले हटाए पनि सो सामग्रीको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। धेरैले बालेनको उक्त पोस्टलाई ‘अतिरञ्जित आक्रोश’ को रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई ‘राजनीतिक सीमा नाघिएको वक्तव्य’ भनेर आलोचना गरेका छन्। त्यस्तै, उनको यस्तो व्यवहारले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने जिम्मेवारीबारे पनि नयाँ बहस उठाएको छ।
बालेन शाह पहिले पनि आफ्ना तिखा र अनौपचारिक अभिव्यक्तिका कारण विवादमा परेका थिए। उनको बोली र प्रस्तुतिले कहिलेकाहीँ समर्थकहरूलाई आकर्षित गरे पनि आलोचकहरूले यसलाई अपरिपक्व राजनीतिक शैलीको उदाहरण ठान्ने गर्छन्। यस घटनाले फेरि एकपटक बालेनको नेतृत्व शैली, अभिव्यक्तिको मर्यादा र राजनीतिक आचरणबारे गम्भीर प्रश्न खडा गरेको छ।