काठमाडौँ।
तारकेश्वर नगरपालिका–तारकेश्वर नगरपालिका–८ नेपालटारदेखि वडा ७ फुटुङ माध्यामिक विद्यालयसम्मको सडक खण्डमा विद्युत् प्राधिकरणको तार भुमिगत गर्ने कार्य लामो समयदेखि जारी रहँदा स्थानीयवासी र यात्रुहरूले गम्भीर सास्ती भोग्नुपरेको छ।
करीब ११.८ किलोमिटर लामो सडकको दुई लेनमध्ये एक लेन भुमिगत कार्यका कारण अवरुद्ध छ भने बाँकी एक लेनमा सवारी साधन चलेका कारण अफिस टाइमा लामो जाम लाग्ने गरेको छ। बाटो खनेर अलपत्र छोडिँदा धुलो र हिलोले हिँड्नसमेत कठिन भएको स्थानीय दिपा अधिकारीले बताइन्। उनका अनुसार दिनमा दुईपटक पानी हाल्दा पनि धुलो नियन्त्रणमा नआएको हो।

स्थानीय अनुकुल तिमिल्सिनाले भने जामका कारण बिरामी बोकेको एम्बुलेन्स ढिलो पुगेको र आमाको उपचारमा समस्या भएको बताए। “यहाँ आगलागी भए घर खरानी भएपछि मात्रै दमकल आउँछ,” उनले व्यङ्ग्य गरे।

ठेकेदारले तिहारअघि काम सक्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म काम पूरा नभएको र ठेकेदारको सम्पर्क समेत नटिकेको वडा नं. ८ का अध्यक्ष श्याम सापकोटाले बताए। उनका अनुसार भुमिगत कार्य सम्पन्न भएपछि मात्र कालोपत्रे प्रक्रिया सुरु हुने जनाइएको छ।
नगरपालिकाले ठेकेदारलाई दबाब दिन नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। प्राप्त ठेकेदार नम्बरमा सम्पर्क गर्दा ‘आगमन कल निषेध’ देखिएको छ।
