काठमाडौँ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन्। प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा देखिएका सभामुख घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका हुन्।
सभामुख घिमिरेले बिहान ९ बजे ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन्। छलफलमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूलाई बोलाइएको छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन।
सभामुखको सचिवालयले जनाएअनुसार, संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल हुनेछ। सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका छन्। यो छलफलले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक गतिरोध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।