काठमाडौँ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवाको आवश्यकता बदलिँदो विश्वव्यापी परिवेशमा झनै बढेको बताएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानुकूल सुधार गर्दै आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
मन्त्री खरेलले सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको र यसबाट मात्रै विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए। उनले स्थानीय तहदेखि विश्वभरका नेपालीमाझ हुलाक सेवाको पहुँच पुर्याउनुपर्नेमा जोड दिए।
मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकासले हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताउँदै 'स्मार्ट हुलाक' बनाउनेतर्फ लाग्नुपर्ने धारणा राखिन्। विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई 'स्मार्ट' बनाएर नागरिकको घरदैलोमा पुर्याउन स्रोतसाधनको उचित प्रबन्ध गरिदिन सरकारसँग आग्रह गरिन्।
सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली, महोत्तरीको लक्ष्मीनारायण मन्दिर, मुस्ताङको सिजा झोङ गुफा र शिक्षाविद् डा हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाएका थिए। 'नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच' भन्ने नाराका साथ आज विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ।