काठमाडौँ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूलाई निर्देशन दिएका छन्। सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्दै मन्त्री घिसिङले यस्तो निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढीपहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि आवश्यक नीतिगत एवम् प्राविधिक सुधारका विषयमा छलफल गरी निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
उनले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउन, विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, मर्स्याङ्दी करिडोर २२० केभी, हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन र आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न पनि प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिए।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बाढीपहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखिएको जानकारी दिए।