काठमाडौँ।
नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि नयाँ निवास भाडामा खोजिरहेको छ। जेन-जी आन्दोलनका क्रममा गभर्नर पौडेलको निजी निवासमा तोडफोड र आगजनी भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो।
राष्ट्र बैंकले ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा घर भाडामा लिन प्रस्ताव आह्वान गरेको छ। बैंकका अनुसार, भाडामा लिइने घर कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गामा बनेको हुनुपर्नेछ।
आवश्यकताहरू:
जग्गा: कम्तीमा १६ आनादेखि २४ आनासम्म।
पार्किङ: कम्तीमा ५ वटा कार/जीप पार्किङ गर्न मिल्ने सुविधा।
संरचना: आर.सि.सि. स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घर।
कोठाहरू: कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम।
सुरक्षा: सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था।
अन्य: सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २.५ तलादेखि ३ तलासम्मको घर।
घर भाडामा दिन इच्छुक व्यक्ति/फर्म/कम्पनीहरूले असोज २७ गते कार्यालय समयभित्र नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्नेछ।