काठमाडौँ।
नेपाली चलचित्र उद्योगमा 'जेनजी आन्दोलन' अघि अभिनेता दीपक राज गिरी र निर्माता तथा निर्देशक सन्तोष सेनबीचको सामाजिक सञ्जाल वाक युद्धले निकै चर्चा पाएको थियो। 'माइतीघर' गीतका निर्माता रोहित अधिकारीले सेनमाथि साइबर सेना लगाएको आरोप लगाएपछि गिरी अधिकारीको पक्षमा उभिएका थिए, जसले गर्दा सेन र गिरीबीच आरोप-प्रत्यारोपको सिलसिला चलेको थियो।
यो वाक युद्धको सतहमा 'माइतीघर' देखिए पनि उनीहरूबीचको दुस्मनी पुरानै थियो। गत वर्ष फूलपातीमा प्रदर्शन भएको 'छक्का पन्जा-५' र गिरी टिमले गाली खानुमा सेनको हात रहेको कुरा स्वयं सेनले एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए।
यही पुरानो दुस्मनीका कारण सन्तोष सेनको नयाँ चलचित्र 'बलिदान'लाई दीपकराज गिरीको लगानी रहेको हलले कति शो देला भन्ने जिज्ञासा सबैमा थियो। प्राइम टाइमको शो पाउनेमा पनि संशय व्यक्त गरिएको थियो। तर, यसपटक गिरीले व्यक्तिगत दुस्मनीलाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न दिएनन्।
आजबाट प्रदर्शनमा आएको सन्तोष सेनको चलचित्र 'बलिदान'लाई गिरीको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजले उल्लेख्य मात्रामा शो दिएको छ। बिहान ७:५, ९:४५, मध्यान्ह १२:३०, दिउँसो १:१५, साँझ ६:०० र राति ८:४५ गरी विभिन्न समयमा शोहरू उपलब्ध गराइएको छ। भोलिको दिन पनि यही संख्यामा शोहरू दिइएको छ।
यसको तुलनामा 'माइतीघर'लाई जम्मा ३ शो र 'हरिबहादुरको जुत्ता'लाई पनि ३ शो मात्र दिइएको छ। यसबाट के पुष्टि हुन्छ भने दीपकराज गिरीले व्यक्तिगत दुस्मनीलाई व्यावसायिक निर्णयमा प्रभाव पार्न दिएका छैनन्। यो कदमले गिरी र सेन दुवैलाई व्यावसायिक रूपमा फाइदा पुग्ने देखिन्छ, जसले चलचित्र उद्योगमा व्यावसायिक नैतिकताको उदाहरण प्रस्तुत गरेको छ।