काठमाडौँ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई बिहीबार गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले ज्ञापनपत्र बुझाउँदै प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाउन माग गरेका छन्।
ज्ञापनपत्रमा वर्तमान परिस्थितिको समीक्षा, जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण तथा पुनःस्थापना योजना निर्माण, चालु आर्थिक वर्षका स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन, क्षतिग्रस्त संरचनाको अस्थायी व्यवस्थापन, राष्ट्रिय समन्वय परिषद्को बैठक आह्वानका लागि प्रधानमन्त्रीलाई अनुरोध गर्ने लगायतका विषयमा छलफल गरिनुपर्ने उल्लेख छ।
सङ्घ/महासङ्घले जेनजी प्रदर्शनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको निःशुल्क उपचारको माग गरेका छन्। उनीहरूले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र युवाको शासन व्यवस्थामा सहभागिताजस्ता जायज मागमा समर्थन जनाएका छन्।
मुख्यमन्त्री बानियाँले ज्ञापनपत्र बुझ्दै उठाइएका विषयलाई सम्बोधन गर्न यथाशीघ्र प्रदेश समन्वय परिषद्को बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।