काठमाडौँ।
स्वास्थ्यमन्त्रीमा सिफारिस भएर पनि अन्तिम समयमा सूचीबाट हटाइएकी डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य सेवा विभागका 'बिचौलियाहरूले निराधार आरोप लगाएको' निवर्तमान सांसद अमरेश कुमार सिंहले दाबी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाउँदा मिश्रको नाम पनि समावेश थियो। तर, मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनः चार जनाको मात्र सूची राष्ट्रपति कार्यालय पठाइएको छ। यससँगै आज दिउँसो २ बजे शीतल निवासमा मिश्रबाहेक अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) ले मात्र शपथ लिने भएका छन्।
निवर्तमान सांसद सिंहले सोमबार सामाजिक सञ्जालमा लेख्दै, "स्वास्थ्यमन्त्री बन्न लागेकी डाक्टर संगीता मिश्रमाथि स्वास्थ्य सेवा विभागमा वर्षौँदेखि रजगज चलाएका केही थान बिचौलियाहरूले निराधार आरोप लगाएका छन्।" उनले विभागमा खरिद प्रक्रियामा रजगज चलाउने बिचौलियाहरूले नै मिश्रलाई सचिव बन्नबाट रोकेको र अहिले बदनाम गर्न खोजेको आरोप लगाएका छन्। सिंहले मिश्रलाई कुशल नेतृत्वकर्ता भन्दै उनी भ्रष्ट भएको भए पहिले नै सचिव बन्न सक्ने बताएका छन्। उनले मिश्रको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृत्य उजागर हुने डरले अतालिएको दाबी गरेका छन्।
यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिने मिश्रले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्। उनी तीन वर्षदेखि अतिरिक्त सचिव थिइन् र गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि असन्तुष्टि जनाउँदै बिदामा बसेकी थिइन्। मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।