काठमाडौँ ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले समाजमा देखा परेका सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाउन र प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । आइतबार भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी खापुङले आसन्न चाडपर्वमा आपराधिक क्रियाकलाप रोक्न थप संवेदनशीलता अपनाउनुपर्ने र सूचना संकलनमा सक्रियता बढाउनुपर्नेमा जोड दिए ।
उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि स्थानीय तह र सरोकारवालासँग समन्वय गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । कार्यक्रममा प्रहरी प्रधान कार्यालयका मानवस्रोत विकास, अपराध अनुसन्धान र कार्य विभागका प्रमुखहरूले पनि निर्देशन दिएका थिए । कार्यक्रममा विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।