काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले लिपुलेकको विषयमा चीनले नेपाललाई चलाखीपूर्ण ढंगले पन्छाएको टिप्पणी गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
बास्कोटाले नेपालले लिपुलेक आफ्नो भूभाग रहेको भन्दै ढुक्कका साथ अतिक्रमण भएको प्रस्ट अडान राखे पनि चीनको प्रतिक्रिया अपेक्षित नभएको बताएका छन्। उनले चीनले 'सिकारलाई सिकारीसँगै न्याय माग्न जाऊ' भनेजस्तो गरी प्रतिक्रिया दिएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, "विना ‘चिप्लोमेसी’ भन्दा लिपुलेकका विषयमा नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको प्रस्ट अडान राख्यो। चीनले चलाखीसाथ पन्छाएन मात्र सिकारलाई सिकारी सँगै न्याय माग्न जाऊ भन्यो।"
बास्कोटाले यस्तो अवस्थामा न्याय पाउने सम्भावना कम भए पनि कूटनीतिक लडाइँ जारी राख्नुपर्नेमा जोड दिएका छन्। "भारतले त नेपालको दाबी ठाडै खारेज गरेकै छ। इतिहासका कमजोरी सच्याउन समय लाग्छ, कूटनीतिक लडाइँ जारी राख्न पर्छ," उनले भनेका छन्।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको भन्दै नेपालले आफ्नो नयाँ नक्सा जारी गरिसकेको छ। यद्यपि, चीन र भारतबीचको द्विपक्षीय व्यापार सम्झौतामा लिपुलेकलाई नाकाको रूपमा प्रयोग गर्ने सहमति भएपछि नेपालले दुवै देशलाई आफ्नो अडान प्रस्ट पार्दै आएको छ। बास्कोटाको यो टिप्पणीले चीनको भूमिकामाथि प्रश्न उठाएको छ।