काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएको संकेत देखिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज काठमाडौंको जमलस्थित येलो प्यागोडामा केन्द्रीय समिति बैठक बोलाएकी छिन्। तर, यस बैठकमा पार्टीका संरक्षक रेशम लाल चौधरी पक्षका सदस्यहरू सहभागी नहुने र बैठकलाई बहिष्कार गर्ने स्रोतले जनाएको छ।
अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा बैठकको मुख्य एजेन्डाका रूपमा पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने उल्लेख गरिएको छ। यस बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ तथा प्रदेशका सांसदहरूलाई निमन्त्रणा गरिएको छ।
तर, स्रोतका अनुसार यस बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सदस्यहरू मात्र सहभागी हुनेछन्। पार्टीका संरक्षक रेशम चौधरीको पनि बैठकमा उपस्थिति नरहने स्रोतको दाबी छ। "बैठकमा पार्टी संरक्षक रेशम चौधरीको उपस्थिति हुने छैन। पार्टी जन्मदाता बिनै अध्यक्ष श्रेष्ठले बैठक बस्न लागेकी हुन्," स्रोतले भन्यो। रेशम चौधरी पक्षका कोही सदस्य पनि बैठकमा सहभागी नहुने बताइएको छ।
संस्थापक सदस्यहरूमध्ये बहुमत सदस्य रेशम चौधरीको पक्षमा रहेको स्रोतको दाबी छ। यसअघि पनि रेशम पक्षका बहुमत सदस्यहरूको बैठकले रञ्जिता श्रेष्ठलाई कारबाही गरेको थियो, जसले पार्टी भित्रको विभाजनलाई थप स्पष्ट पारेको थियो।
आज बस्ने भनिएको बैठकले करिब एक दर्जन व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने र विधान संशोधनसहितका विषय समेटेर निर्वाचन आयोगमा अद्यावधिकका लागि कागजात पेस गर्ने रञ्जिता पक्षको तयारी रहेको बताइएको छ। नाउपाभित्रको यो किचलोले पार्टीको भविष्य र आगामी राजनीतिक दिशामा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा हेर्न बाँकी नै छ।