काठमाडौँ।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाई आज (सोमबार) साँझ नै थुनामुक्त हुने प्रक्रियामा छन्। अदालतले तोकेको धरौटी रकम बुझाएर उनी आजै डिल्लीबजार कारागारबाट रिहा हुने तयारीमा रहेका हुन्।
सोमबार साँझ उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनलाई आवश्यक प्रक्रिया पूरा गर्न डिल्लीबजार कारागारमा फिर्ता ल्याइएको छ। कारागार बाहिर प्रसाईलाई स्वागत गर्न उनका समर्थकहरूको बाक्लो भीड लागेको छ, जसले गर्दा त्यहाँको माहोल तनावपूर्ण देखिएको छ।
उच्च अदालत पाटनले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाउँदै प्रसाईलाई दुई छुट्टाछुट्टै मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। जसमा तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। उक्त धरौटी रकम बुझाउने प्रक्रिया पूरा भएलगत्तै प्रसाई आजै साँझ थुनामुक्त हुनेछन्।