काठमाडौँ।
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लगिएका सात नेपाली किशोरीको सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरिएको छ। मानव तस्करीमा संलग्न रहेको अभियोगमा भारतीय प्रहरीले एक नेपाली सहित दुई जनालाई पक्राउ गरेको छ। माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार, अभियुक्तहरूले किशोरीहरूलाई वैदेशिक रोजगारीका लागि हङ्कङ लैजाने भन्दै नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजार पानीटङ्की पुर्याएका थिए। उनीहरूको आधार कार्ड लगायत नक्कली कागजात बनाउन सिलिगुढीतर्फ लैजान लागेको अवस्थामा भारतीय प्रहरीले शुक्रबार उनीहरूलाई उद्धार गरी अभियुक्तहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्। उद्धार गरिएका सबै किशोरीहरू सङ्खुवासभा जिल्लाका रहेको जनाइएको छ।
उद्धार गरिएका किशोरी र पक्राउ परेका दुई अभियुक्तलाई हाल भारतको खोरीबारी प्रहरी थानामा राखिएको छ। माइती नेपालको टोली किशोरीहरूलाई नेपाल ल्याउन शुक्रबार नै पानीटङ्की पुगे पनि कानुनी प्रक्रिया मिलाउनुपर्ने भन्दै भारतीय प्रहरीले उनीहरूलाई तत्काल फिर्ता पठाउन मानेको छैन।
यसैबीच, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।