काठमाडौँ ।
संघीय निजामती सेवा विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रमुख चार राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेको छ ।
समितिले सोमबार बोलाएको बैठकमा दलका सचेतकहरूले छानबिनलाई निष्कर्षमा पुर्याउन विभिन्न सुझाव दिएका छन् । समितिले नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार वर्तौला, नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हित राज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारसँग सुझाव लिएको हो ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरेले निजामती विधेयकमा धेरैको चासो रहेको र छानबिन समितिको निष्कर्षलाई आफ्नो दलले स्वीकार गर्ने बताए । छोटो मन्तव्य राख्दै उनले भने, "तपाईंहरूको निष्कर्ष मान्छौं ।"
एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने गल्ती कहाँ र कसरी भयो भन्ने कुरा पत्ता लगाउन समितिलाई सुझाए । उनले गल्ती पहिचान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका पाण्डे र रास्वपाका परियारले पनि छानबिन प्रक्रियालाई सघाउने गरी आ-आफ्ना धारणा राखेका थिए । समितिले विधेयकमा भएको भनिएको त्रुटिबारे सत्यतथ्य पत्ता लगाएर आफ्नो प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ ।