काठमाडौँ।
नेपाल प्रहरीमा करिब दुई महिनादेखि रोकिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया शक्ति केन्द्रहरूको टकरावका कारण अनिश्चित बनेको छ । रिक्त ११ पदका लागि ३३ जना शक्तिशाली प्रतिस्पर्धी हुँदा कसलाई बढुवा गर्ने भन्ने विषयमा गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) बीच मतभेद बढेको हो ।
स्रोतका अनुसार, गृहमन्त्री रमेश लेखक कार्यक्षमताको आधारमा केही जुनियर एसपीलाई अघि बढाउन चाहन्छन् भने आईजीपी ज्येष्ठतालाई समेत ख्याल गरेर सन्तुलित निर्णय गर्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले ज्येष्ठतालाई आधार बनाउन निर्देशन दिए पनि विवाद मिलेको छैन ।
विवाद मिलाउन र शक्तिशाली आकांक्षीहरूलाई व्यवस्थापन गर्न दुईवटा एसएसपी दरबन्दी थपेर कुल १३ जनालाई बढुवा गर्ने गृहकार्य भइरहेको छ । यसैबीच, केही एसपीहरूले आर्थिक चलखेलमार्फत बढुवा हुने प्रयास गरेको समेत आरोप लागेको छ, जसले प्रक्रियालाई थप जटिल बनाएको छ ।