काठमाडौँ ।
चितवन राष्ट्रिय निकुञ्जले आज (सोमबार) देखि निकुञ्जभित्र सञ्चालन हुने जिप सफारी बन्द गरेको छ। वन्यजन्तुको प्रजनन समय र वर्षायाममा पर्यटकको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सफारी बन्द गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि संवेदनशील समय हो। यो बेला निकुञ्जभित्र मानवीय गतिविधि हुँदा उनीहरूको बासस्थान र प्रजनन प्रक्रियामा खलल पुग्न सक्ने भएकाले हरेक वर्ष यो समयमा सफारी बन्द गरिन्छ।
"सफारी अब सामान्यतया असोजको पहिलो वा दोस्रो सातामा खुल्नेछ," मगरले भने, "यदि वर्षा कम भएमा असोज पहिलो सातामै खुल्न सक्छ, तर वर्षा जारी रहेमा केही ढिलो हुनेछ।"
प्रजननबाहेक, वर्षायाममा निकुञ्जभित्रका कच्ची बाटाहरू बिग्रने, हिलाम्य हुने र खोलाहरूमा बाढी आउन सक्ने हुँदा पर्यटकको सुरक्षालाई पनि मध्यनजर गर्दै सफारी बन्द गरिएको निकुञ्जले जनाएको छ।
निकुञ्जभित्रको सफारी बन्द भए पनि बाहिरी क्षेत्रका मध्यवर्ती सामुदायिक वनहरूमा भने जिप सफारी नियमित रूपमा सञ्चालन हुनेछ। निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा गरी कुल ७३ वटा जिपले पर्यटकलाई सफारी गराउँदै आएका थिए।