काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा शुक्रबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा तारकेश्वर नगरपालिकास्थित कालीदेवी माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका हुन्।
यस वर्षको एसईईमा तारकेश्वर नगरपालिकाका संस्थागत (निजी) विद्यालयहरूको समग्र नतिजा पनि उत्साहजनक देखिएको छ। प्राप्त प्रारम्भिक जानकारी अनुसार, नगरपालिकाका संस्थागत विद्यालयतर्फ करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
तारकेश्वरका धेरैजसो विद्यालयहरूले शतप्रतिशत नतिजा ल्याएर आफ्नो शैक्षिक गुणस्तर प्रमाणित गरेका छन्। कालीदेवी माध्यमिक विद्यालयको यो उत्कृष्ट नतिजाले नगरकै शैक्षिक प्रतिष्ठा बढाएको छ।
बोर्डले नतिजा सार्वजनिक गरेसँगै विद्यालयहरूले विस्तृत विवरण संकलन गरिरहेका छन्। नगरपालिकाभरिको पूर्ण र विषयगत नतिजाको विस्तृत विवरण भने आउने क्रममा नै रहेको छ।