काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र भेला, जुलुस र प्रदर्शनजस्ता गतिविधिमा लगाएको निषेधाज्ञा हटाएको छ। यद्यपि, अब त्यस्ता कुनै पनि कार्यक्रम आयोजना गर्नुअघि प्रशासनसँग अनिवार्य समन्वय गर्नुपर्ने शर्त राखिएको छ।
राजावादी समूहहरूको विरोध प्रदर्शन बढेपछि प्रशासनले शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै गत जेठ १८ गतेदेखि चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा विरोधका कार्यक्रम गर्न रोक लगाएको थियो।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै उक्त पुरानो आदेशलाई निष्क्रिय पारेको हो। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "मिति २०८१/०२/१८ गतेको आदेश मार्फत लगाइएको निषेध आदेश हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी कायम नरहेको व्यहोरा जानकारी गराइन्छ।"
यो निर्णयसँगै अब चक्रपथभित्र सार्वजनिक स्थानमा भेला, अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रमहरू गर्न सकिनेछ, तर त्यसका लागि आयोजकले प्रशासनसँग पूर्व-समन्वय र अनुमति लिनुपर्नेछ। प्रशासनको यो कदमले नागरिकको भेला हुने अधिकारलाई सहजीकरण गरे पनि विरोधका कार्यक्रमलाई भने नियन्त्रित र व्यवस्थित गर्न खोजेको देखिन्छ।