काठमाडौँ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाबीच छलफल हुन लागेको हो।
प्रमुख दलहरूको बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने अडान राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निरन्तर वेल घेराउ र नाराबाजी गरिरहेको छ। यिनै सन्दर्भमा छलफल गर्न प्रमुख दल बैठक बस्न लागेका हुन्। बिहीबार पनि बैठक बस्ने तय भएको थियो। तर स्थगित गरिएको थियो।
विपक्षी दलहरूको अवरोधका बीच पनि संसद बैठक सञ्चालन भइरहेको छ। बैठकमा बजेटमाथिको छलफल जारी छ। शुक्रबार प्रधानमन्त्री ओलीको सांसदहरूसँग प्रश्नोत्तर पनि रहेको छ।