काठमाडौं । काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको तथ्य खुलेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा गठित प्राविधिक टोलीले स्थलगत अध्ययनपछि यस्तो प्रतिवेदन पेश गरेको हो।
प्रतिवेदनका अनुसार माइतीघरको ढल निकास प्रणालीमा गम्भीर प्राविधिक त्रुटि देखिएको छ। माथिल्लो भागमा ९० सेन्टिमिटर व्यास भएको ढलको पाइप तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी पानीको निकास साँघुरिँदा (बोटलनेकिङ) वर्षाको पानी ढलले धान्न नसकी सडकमा बाहिरिने गरेको छ। साथै, टुकुचा खोलाको सतह बढ्दा ढलको पानी उल्टै सडकतिर फर्कने (ब्याक फ्लो) समस्या पनि देखिएको छ।
भौतिक संरचनाका अतिरिक्त सहरी विकासका कारणहरूलाई पनि डुबानको प्रमुख कडीका रूपमा औँल्याइएको छ। विगतमा खुला रहेका क्षेत्रहरूमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय जस्ता ठूला भवन बनेपछि जमिन कंक्रिटले ढाकिएको छ। यसले गर्दा वर्षाको पानी जमिनमुनि सोसिने प्राकृतिक प्रक्रिया बन्द भई सबै पानी सडकमा केन्द्रित हुने गरेको छ।
अतिक्रमणको समस्या पनि उत्तिकै जिम्मेवार देखिएको छ। कतिपय स्थानमा ढलमाथि नै सरकारी तथा व्यक्तिगत भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको छ। ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको प्राविधिक टोलीको निष्कर्ष छ। साउन ५ गते कार्यवाहक प्रमुख डंगोलले गरेको स्थलगत अनुगमनपछि यो प्रतिवेदन तयार पारिएको हो।