काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको जलसम्पदालाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्। जलस्रोत विज्ञ महाजन यादवद्वारा लिखित पुस्तक ‘नेपालको जलस्रोत’ को आज लोकार्पण गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष यादवले नेपाल अन्य देशको तुलनामा जलसम्पन्न मुलुक भए पनि यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको टिप्पणी गरे। उनले जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग र वातावरण संरक्षणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
लेखक महाजन यादवका अनुसार, यो पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूको विस्तृत विश्लेषण गरेको छ। पुस्तकले नीतिगत बहसलाई तथ्यपरक बनाउन र नीति निर्माता, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि उपयोगी सन्दर्भ सामग्री प्रदान गर्ने लक्ष्य राखेको छ।