काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुसँगको शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएकी हुन्।
भेटमा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक वस्तुको ब्रान्डिङ र अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो। एफएओ प्रतिनिधि सिमिजुले एसियाका झण्डै सबै राष्ट्रले जीआई प्रणाली कार्यान्वयन गरिसकेको भए पनि नेपालमा कानुनी व्यवस्था नहुँदा नेपाली रैथाने उत्पादनहरू अन्तर्राष्ट्रिय रूपमा संरक्षणविहीन रहेको औंल्याएका थिए। मन्त्री यादवले नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउन र तिनको कानुनी सुरक्षा सुनिश्चित गर्न सरकारले छिट्टै आवश्यक कानुन निर्माण गर्ने स्पष्ट पारिन्।