काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को बुधबारको बैठकले धिताललाई आयोगको नेतृत्व सुम्पिने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष धितालले आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
यसअघि पनि आयोगको अध्यक्ष रहेका धिताल गत वैशाख २१ गते सरकारले ल्याएको ‘सार्वजनिक पदधारण गरेका व्यक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अन्तर्गत पदमुक्त भएका थिए। मन्त्रालयले जेठ ७ गते रिक्त पदका लागि पुनः आवेदन आह्वान गरेपछि धितालले पनि प्रतिस्पर्धामा भाग लिएका थिए।
अध्यक्ष पदका लागि परेका १० वटा आवेदनमध्ये सिफारिस समितिले कार्ययोजना मूल्यांकनका आधारमा धितालसहित ६ जनालाई सर्टलिस्ट गरेको थियो। जलविद्युत्, नवीकरणीय ऊर्जा र नीति निर्माणको क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव भएका धिताललाई उनको विज्ञता र कार्यक्षमताका आधारमा सरकारले पुनः नियुक्त गरेको हो। अध्यक्ष र सदस्य गरी कुल ३२ जनाले आयोगका विभिन्न पदका लागि आवेदन दिएका थिए।