काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इरानलाई फेरि बम विस्फोट गराउने कडा धम्की दिएका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत ट्रम्पले इरानले हर्मुज स्ट्रेटमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा त्यसको बदलामा इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने चेतावनी दिएका हुन्।
ट्रम्पले लेखेका छन्, "अबदेखि इरानले हर्मुज स्ट्रेटमा कुनै पनि जहाजलाई क्षेप्यास्त्र, रकेट, ड्रोन वा अन्य कुनै हतियारले आक्रमण गरेमा अमेरिकाले इरानको राजधानी वा वरपरका पुल र पावर प्लान्टमा बम विस्फोट गराएर ध्वस्त पार्नेछ।"
पछिल्लो समय हर्मुज मार्ग र वरपरका समुद्रमा व्यावसायिक तथा सैन्य जहाजहरूमाथि भइरहेको आक्रमणलाई लिएर अमेरिका र इरानबीच तनाव चरम सीमामा पुगेको छ। अमेरिकाले इरानको आक्रमण गर्ने क्षमता कमजोर पार्न केही दिनदेखि लगातार हवाई हमला गरिरहेको छ। ट्रम्पको यो पछिल्लो चेतावनीले मध्यपूर्वमा युद्धको जोखिमलाई थप बढाएको छ।